मुस्ताङको लुरी गुम्बा ओझेलमा
म्याग्दी | माघ २९, २०८१
म्याग्दी: मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ ।
धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२आँै शताब्दीमा बनेको हो ।
समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ ।
आँगनमा पुग्ने बेलामा काठको भर्याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले बताउनुभयो ।
आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ । यहाँका चित्रहरू पन्ध्रौँ शताब्दीमा बनाइएको हो । पहराको ढुङ्गालाई नै थामको रूप दिई बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पद्मसम्भवको मूर्ति रहेको छ । भुटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ ।
स्थानीयवासीले यसलाई लुरी कावुङ भन्ने गर्छन् । अर्को किंवदन्तीअनुसार यारागाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । गुम्बापारिको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् ।
मुख्य गुम्बाभन्दा केही तल पेयुङखोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ । दुवै ठाउँको गुम्बामा नियमित पूजाआजा हुने आनी ढोलकरले बताउनुभयो । लुरी गुम्बाको नजिकैको यारा र घारागाउँमा धर्मशाला र होटलको सुविधा छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टा सवारीसाधनको यात्रापछि पुगिने घारागाउँबाट २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ ।
लोमान्थाङबाट लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ । चराङबाट घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारागाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकारले सडकबाट लुरी गुम्बा पुग्ने ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका छन् ।
गाउँपालिका र प्रदेश सरकारको रु १५–१५ लाख बजेटमा उकालोमा करिब तीन सय मिटर पक्की पदमार्ग निर्माण भएको वडाध्यक्ष पासाङ गुरुङले बताउनुभयो । यस वर्ष सार्वजनिक शौचालय बनाउन रु पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

